काठमाडौं – ४० वर्षपछि भारतीय जेलबाट छुटेका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो, ’प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ । नागरिकता लिनको लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन् । दुर्गाप्रसादका भतिजा गोपालले भने ’ठूलो बुवाले नागरिकता लिइसक्नुभयो । हाम्रो नाता पनि प्रमाणित भइसक्यो,’।
नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ । पश्चिम बंगालको जेल र कलकत्तास्थित उच्च अदालतका कागजातहरुमा उनको नाम दीपक जैसी रहेको छ । गोपालले भने ’अब दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने सिफारिस पनि सिडिओ कार्यालयबाट बनाउँछौं,’ ।
उनको भनानइ अनुसार दुर्गाप्रसाद घरमा बसेपछि अचेल बोल्न थालेका छन् । उनले भने ’ठूलो बुवा पहिलाभन्दा कुरा गर्न थाल्नुभएको छ,’ । दुर्गाप्रसादको स्वास्थ्य परीक्षणका लागि पनि एक जना डाक्टर झापाबाट उनको घर माई नगरपालिका–१० पुग्दैछन् ।
‘कन्सल्टेन्टले आएर कुन ठाउँमा कुन डाक्टरलाई देखाउने भनेपछि उहाँहरूलाई हामी त्यही अस्पतालमा पु¥याइदिन्छौं,’ प्रजिअ खड्काले भन्नुभयो, ‘त्यसको खर्च प्रदेशको सामाजिक विकास मन्त्रालयले व्यहोर्छ ।’ यसअघि गत सोमबार कलकत्ता उच्च अदालतले दुर्गाप्रसादलाई क्षतिपूर्ति पाउनु पर्ने बताएको थियो ।
प्रदेशको आन्तरिक मामिला मन्त्रालयले उनलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया सुरू गर्ने निर्णय समेत भएको छ । कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले क्षतिपूर्तिका लागि आफूले पनि पहल गर्ने बताउनु भएको छ ।
पौडेलले भन्नुभयो, ’शनिबार कलकत्ता पुग्छु । परिवार र महावाणिज्यदूतावासको तर्फबाट यो मुद्दा लडिरहेका वकिलहरुसँग छलफल गरेर अब कसरी अघि बढ्ने भन्नेमा लाग्छु,’ । ‘म उहाँको परिवारसँग नियमितरुपमा सम्पर्कमा छु । उहाँहरूलाई आवश्यक अन्य सहयोग पनि हामीले गर्छौं ।’