एजेन्सी – भारतको राजस्थानको सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका छन् ।
पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु जलाएका हुन् । ‘एन्टी करप्सन ब्युरो’ को टोली छापा मार्ने उद्देश्यले आफ्नो घरमा आएपछि सो दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई १ लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । सिंहले उक्त रकम पिंडवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बताएपछि ब्युरोको टोली उनको घरमा छापा मार्न पुगेको थियो ।
ब्यूरोको टोलीले तहसिलदार जैनलाई नियन्त्रणमा लिइसकेको छ । उनको घरबाट टोलीले जलेको अवस्थाका नोटसमेत बरामद गरेको छ । ब्युरोका महानिर्देशक भगवानलाल सोनीका अनुसार स्थानीय प्रहरीको सहयोगमा ब्यूरोको टोली जैनको घरभित्र प्रवेश गरेको थियो । उनको घरबाट ५० हजार रूपैयाँसमेत बरामद गरिएको छ ।