भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्ट फेला परेको छ । संकलित नमूनाको परीक्षणबाट भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो । अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको प्रभावकारिता कम हुने वा नहुनेबारे अध्ययन गरिरहेका छन् । भारतका १८ राज्यबाट संकलित १० हजार ७ सय ८७ नमूना मध्ये ७ सय ७१ पुष्टि भइसकेका नयाँ भेरियन्ट रहेको थाहा भयो । त्यसमध्ये ७ सय ३६ बेलयाती भेरियन्ट, ३४ दक्षिण अफ्रिकी भेरियन्ट र एक ब्राजिलियन भेरियन्ट रहेका छन् ।

स्वास्थ्य अधिकारीहरुले भारतमा हाल बढिरहेको संक्रमणमा यी भेरियन्ट कारक भने नरहेको बताएका छन् । भारतमा बुधबार एकै दिन ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भयो र २ सय ७५ जनाको ज्यान गएको थियो । भाइरसको म्युटेसन नयाँ कुरा नभए पनि डबल म्युटेसन (दुई म्युटेन्ट भाइरसबिचको म्युटेसन) भने जोखिमपूर्ण हुन सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।