काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो ।
स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल संघले जनाएको छ । प्रत्येक टोलीमा ४ जना नियमित खेलाडी तथा १ जना वैकल्पिक खेलाडी र १ जना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ ।
सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ ।
प्रतियोगिता यही चैत १४ गते शनिबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तेस्रो स्थान हुनेले ५० हजार, चौथो हुनेले ३० हजार र पाँचौँ स्थान हासिल गर्नेले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । —रासस