काठमाडौं – ज्योति लाइफको आइपिओको बाँडपफाँड यहि चैत १३ गते शुक्रबार हुने भएको छ । यस आइपीओको बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार यहि शुक्रबारका दिन नै बाँडफाँड गर्नेगरी तयारी भएको बताएको छ । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुनको लागि केही ढिलाई भएको छ । सामान्यतः आइपिओको बिक्री बन्द भएको १ सातामा नै बाँडफाँड हुँदै आएकोमा ज्योति लाइफ इन्स्योरेन्सको २ साताभन्दा बढी समय लाग्ने भएको छ ।
आवेदकको सङ्ख्या पनि ज्योति लाइफ इन्स्योरेन्समा हालसम्मकै उच्च परेको थियो । यसमा १८ लाख जनाले आवेदन दिएका छन् । कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । यसर्थ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले यो सेयर पाउने छन् । करिब १२ लाखको हात रित्तो हुने भएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो । नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन् । रिलायबल, सिटिजन, आइएमई, युनियन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी नै रहेको छ । यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन् ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३ सय ३९ रुपैयाँ रहेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो । कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउँछ । पछिबाट खुलेको जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको बिजनेस वृद्धिदर राम्रो रहेको देखिन्छ ।