एजेन्सी – अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ ।
सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा तालिबानहरुले गरिरहेको हिंसाका बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो । अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान पुग्नुभएको थियो । उहाँले सो वार्ताका क्रममा अमेरिका अफगानिस्तानको सरकार र तालिबानका बीचमा शान्ति वार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा समेत राख्नुभएको थियो ।
अफगानिस्तानको सरकार र तालिबानका बीचमा गत वर्षदेखि नै शान्ति वार्ता शुरु भएको भनिएको भएता पनि अहिले त्यसले निरन्तरता पाउन सकेको छैन ।