भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना सङ्क्रमित भएका छन् ।
गत २४ घण्टामा कोरोना सङ्क्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताको सबै भन्दा बढी हो । यस अवधीमा कोरोना सङ्क्रमणका कारण २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्या १ लाख ५९ हजार ९ सय ६७ पुगेको आज सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या १ करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल सङ्क्रमितमध्ये ३ लाख ३४ हजार ६ सय ४६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल १ करोड ११ लाख ५१ हजार ४ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ४ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८ सय २३ जनामा कोरोना भाइरस देखिएको र १ जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९ सय ५६ जनाको मृत्यु भईसकेको छ ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । आइतबार एकै दिनमा १० लाख ६३ हजार जनाको कोरोना परीक्षण गरिएको छ ।