ब्राजिलमा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट एकै दिनमा १ हजार २ सय ९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ एकै दिनमा १ हजार २ सय ९० जनाको यस सङ्क्रमणबाट निधन भएको हो ।
योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको सङ्ख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो कुरा बताएका छन् । यसैगरी आइतबार सम्ममा यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रतिदिन १ लाख जनामा ५ हजार ४ सय ८२ जनामा यो सङ्क्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रतिदिन १ लाख जनसंख्या सङ्क्रमणमा कम्तीमा पनि १ सय ३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।
ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।
त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना सङ्क्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ । – रासस