काठमाडौं – सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार ३ जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ र ४० वर्षीय सुरेन कुमार बल रहेका छन् । अटोमा राखिएको ३ वटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् । प्रहरी प्रवक्ता कुँवरका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजार रुपैयाँ समेत बरामद भएको छ । अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।