भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८ सय ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
सोही अवधिमा अरु २२ हजार ९ सय ५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ । भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या १ करोड १५ लाख ९९ हजार १ सय ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा १ लाख ५९ हजार ७ सय ५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती मध्ये १ सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै १ हजार ५ सय २९ जना सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म ४ करोड ४६ लाख ३ हजार ८ सय ४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार १ सय १९ जनाको कोरोना परीक्षण गरिएको छ ।