एजेन्सी – करिम बेन्जेमाले २ गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका थिए । फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि जर्मन मिडफिल्डर टोनी क्रुसले एसिस्ट गरेका थिए । जीतसँगै रियल चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई उछिन्दै लिगको अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।
खेलको २० औँ मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाउन सफल भएका थिए । त्यसको १० मिनेटपछि उनले अग्रता दोब्बर बनाए । तर, ४० औँ मिनेटमा सान्टी मिनाको शक्तिशाली हेडरको मद्दतले सेल्टाले एक गोल फर्काउन सफल रह्यो । दोस्रो हाफमा सेल्टाले रियलमाथि दबाब बनाए पनि गोल गर्नबाट भने सकेन । खेलको इन्जुरी समयमा मार्को असेन्सियो गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
२८ खेलपछि रियलको ६० अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले एक खेल कम खेल्दै ६३ अङ्क बनाउन सफल भएको छ । तेस्रो स्थानमा रहेको बार्सिलोना रियलभन्दा एक अङ्कले पछि छ । तर, उसले पनि एक खेल कम खेलेको छ । शनिबार नै भएका अन्य खेलमा रियल भालाडोलिड र सेभिया, एथ्लेटिक बिल्बाओ र इबार र हुएस्का र ओसासुनाले बराबरी खेलेका छन् ।