भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना सङ्क्रमित भएका छन् । गत बुधबार एक दिनमा ३६ हजार जना सङ्क्रमित भएका थिए भने बिहीबार ३९ हजार ७ सय २६ पुगेको छ । गत २४ घण्टाको कोरोना सङ्क्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सबै भन्दा बढी हो ।
भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या १ करोड १५ लाख १४ हजार ३ सय ३१ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । कूल सङ्क्रमितमध्ये २ लाख ७१ हजार २ सय ८२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल १ करोड १० लाख ८३ हजार ६ सय ७९ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ सय ५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना सङ्क्रमणको कारण मृतकको सङ्ख्या १ लाख ५९ हजार ३ सय ७० पुगेको शुक्रबार जनाइएको छ ।
भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म करिब ३ करोड ८० लाखले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मंगलबारसम्म भारतमा २३ करोड भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।