काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बिक्री खुल्ला भएको छ । कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खुल्ला गरेको छ ।
इच्छुक आवेदकहरुले कम्तीमा १० र बढीमा २ लाख कित्तासम्मका लागि आइपिओमा आवेदन दिन सक्ने भएका छन् । अङ्कित मूल्य १ सय रुपैयाँमा निष्कासन हुने यो कम्पनीको आइपिओ २ लाख ६९ हजार ७ सय जनाले हात पार्ने छन् ।
यस आइपिओमा छिटोमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यस सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ मेरो सेयर र आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रवन्धकका रुपमा मेगा क्यापिटल रहेको छ ।
दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले दावी समेत गरेको छ । कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ । कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणहरुका लागि जारी हुन लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड रहेको छ ।
केयर नेपालले यो कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ । यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ । गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७÷७८ सालमा यस कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।