काठमाडौं – ललितपुरमा आगलागीबाट १ वृद्धाको ज्यान गएको छ । ललितपुर महानगरपालिका –१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा आज बिहान आगलागी हुँदा आगोमा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै १ लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबै लाई अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका २ हजार भन्दा बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३ सय ३२ जना घाइते भएका छन् । आगलागीबाट १ अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।