साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २–१ गोलले पराजित गर्दै समग्रमा ६–२ को जितसहित बार्यन अन्तिम आठमा पुग्न सफल भएको हो ।
बार्यन पहिलो लिगमा ४–१ ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्यनका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चोपोउ माटिङले १–१ गोल गरेका थिए । लाजियोका मार्को पारालोले १ गोल फर्काउन सफल भएका थिए ।
खेलको ३३ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । ७३ मिनेटमा म्याक्सिमले गोल गरेपछि बार्यनले २–० को अग्रता लिन सफल भयो । ८२ मिनेटमा लाजियोका मार्कोले १ गोल फर्काएता पनि बार्यन २–१ ले विजयी बन्न सफल भयो ।