काठमाडौं — नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको मृत्यु भएको छ । उहाँको ७७ वर्षको उमेरमा आज बिहान करिब १ बजे मृत्यु भएको हो । कांग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालालाई मुटु रोगको समस्या रहेको थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पताल भर्ना गरिएका कोइरालाको बुधबार राति करिब १ बजे ज्यान गएको हो । कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा उनको विराटनगरमा जन्म भएको थियो ।
नेता कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका नेता कोइराला केही वर्षयतादेखि स्वास्थ्यमा समस्या देखिएका कारण राजनीतिमा सक्रिय देखिएका थिएनन् ।
निधनपछि उनको शव विराटनगर महानगरपालिका –८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उनको निवासमा भेला भएका छन् । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।