भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाउन सफल भएको छ । भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको थियो ।
इंग्ल्यान्डको जितमा जोस बट्लरले सर्वाधिक ८३ रन बनाउन सफल भएका थिए । उनले ५२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ८३ रन बनाएका थिए । यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित ४० रन बनाए । डाविड मालन १८ र जासन रोय ९ रन बनाएर आउट भएका थिए ।
भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १÷१ विकेट लिएका थिए । त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै सर्वाधिक ७७ रन बनाएका थिए । उनले ४६ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरेका थिए । इंग्ल्यान्डका मार्क उडले ३ र क्रिस जोर्डनले २ विकेट लिए भने यस्तै ऋषव पन्तले २५, हार्दिक पाण्ड्याले १७ र रोहित शर्माले १५ रन बनाएका थिए ।