काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँन लागेको छ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण उक्त समयमा हुन नसकेका कारण यस वर्ष आयोजना हुन लागेको हो ।
यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिगको आयोजना गर्दैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछन भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।
सहभागी १४ क्लबलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, झापा एफसी, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब, वीरगन्ज युथ एकेडेमी, र सानो गौचरण युथ क्लब रहेका छन् । यस्तै समूह ‘बी’ मा ओसिस क्लब, सामाजिक युवा क्लब, सानेपा क्लब, स्वयम्भु क्लब, प्लानिङ ब्वाइज युनाइटेड, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब रहेका छन् ।
दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । २ समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ । समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका चर्च ब्वाइज र ओसिसबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सका एउटा समूहको क्लबले अर्को समूहको ३ क्लबहरुसँग मात्र खेल्नेछ ।
त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्त खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष ३ टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।