ब्राजिलमा मंगलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।
कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको कोभिड–१९ को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना शुरु भएयता हालसम्म २ लाख ६८ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ ।
ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्यांकअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा १ हजार ९ सय जनाको मृत्यु भएको थियो । गत दुई हप्ता यता यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बताइएको छ । सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाहरुका आकस्मिक कक्षहरु ८० प्रतिशतभन्दा बढीे भरिएका बताइएको छ ।
“कोभिड –१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो । त्यो क्रम अहिले पनि रोकिएको छैन । अहिले पनि सो महामारीको प्रकोप झन् बढेकोे फियोक्रुजका वरिष्ठ अधिकारी ओरेलानाले एएफपीलाई बताउनु भएको छ ।
कोरोना विरुद्धको खोपका कारण हालको महामारीको परिस्थितिमा आमूल परिवर्तन भएको पनि उहाँले बताउनु भएको छ । तर मृत्यु हुनेहरुको संख्या नघट्नु दुःखद भएको उहाँको भनाई छ ।
–––