काठमाडौं – नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको उक्त प्रतियोगिताको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३–० ले पराजित गर्दै उक्त उपाधि हात पार्न सफल भएको हो ।
पाँच टिम सहभागी प्रतियोगितामा एपीएफ क्लबले सबै ४ खेल जित्दै १२ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । यस्तै यसअघि लगातार ३ खेल जितेको पुलिसले एपीएफसँग हारपछि ४ खेलबाट ८ अङ्क बनायो ।
अघोषित फाइनल जस्तै रहेको अन्तिम खेलमा पुलिसले एपपीएफविरुद्ध तीन सेटमा अग्रता लिएता पनि जोगाउन सकेन र पराजित भयो । पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी सरस्वती चौधरीले प्लेयर अफ दि म्याच बनिन् । उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख पायो । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख र चौथो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार रुपैया हात पारेको छ ।
च्याम्पियन एपीएफकी ओपन स्पाइकर सरस्वती चौधरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपीएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर घोषित भइन् । पुलिसकै कमला पुन उत्कृष्ट सेटर घोषित भइन् ।
यस्तै एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् । एपीएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले ५–५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् ।
विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यससचिव रमेशकुमार सिलवाल, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणा, उपमेयर उमा थापा, केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेड लगायतले पुरस्कार वितरण गरेका छन् ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा तीन विभगीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो ।