जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा सेपानिस क्लब सेभियासँग २–२ गोलको बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित डर्टमण्ड अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । पहिलो लिगको खेल डर्टमण्डले ३–२ ले जितेको थियो ।
दोस्रो लिगमा एर्लिन हालान्डले डर्टमण्डका लागि २ गोल गरेका थिए , यस्तै सेभियाका लागि युसुफ एन नेसरीले २ गोल गरे । खेलको ३५औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाउन सफल भएका थिए । ५४औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई अझ दोब्बर बनाउन सफल भए । उनले पेनाल्टीमा गोल गरेका थिए ।
तर डर्टमण्डले २ गोलको अग्रता बनाए पनि सेभियाले पुनरागमन गर्दै २ गोल नै फर्कायो । ६९औं मिनेटमा युसुफ एन नेसरीले पेनाल्टीमा गोल गरे । इन्जुरी टाइमा युसुफले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले खेल २–२ को बराबरीमा सकायो । तर पहिलो लिगमा जित हात पारेको आधारमा डर्टमण्ड अघिल्लो चरणमा पुग्दा सेभिया भने अन्तिम १६ बाटै बाहिरियो ।