अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिवान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् । तालिवान लडाकू लुकेर बसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाईबलले पनि मद्दत गरेकोे सेनाले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो ।
कारबाहीको क्रममा सेनाले विद्रोही तालिवानले योजना गरेको बारुदी सुरुङ र विस्फोट पदार्थ गरी २२ ओटा निष्क्रिय बनाउनुको साथै अन्य हातहतियार समेत बरामद गरेको जनाएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिवानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।
तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन् । तालिवान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् । – रासस