काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) चैत ६ गतेदेखि खुल्ने भएको छ । कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोल्न लागेको छ ।
इच्छुक आवेदकहरुले कम्तीमा १० कित्तादेखि बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । अंकित मूल्य १ सय रुर्पयाँमा निष्कासन हुने यो कम्पनीको आइपिओ २ लाख ६९ हजार ७ सय जनाले पाउने भएका छन् । छिटोमा यस आइपिओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।
यस आइपिओको सेयर बिक्री प्रवन्धकका रुपमा मेगा क्यापिटल रहेको छ । मेरो सेयर र आफ्नो खाता रहेको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ । दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ ।
कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ । कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरीएको छ ।
७० प्रतिशत सेयर संस्थापक समूहको छ, भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
केयर नेपालले यस कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ । यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ । गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।