काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताउनुभएको छ ।
“नेपालको संविधानले लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता र न्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ ।”
उहाँले सन्देशमा सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन र क्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ । “सय अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु”, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भन्नुभएको छ ।