काठमाडौं – साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने होटेल र टुरिजम तथा जलविद्युत समूहबाट अरु सबै सवइन्डेक्स ओरालो लागेपछि अन्ततः बजार घटेको हो ।
होटेल र टूरिजमको वृद्धिमा आज चन्द्रागिरी हिल्सको योगदान रहृयो । यो कम्पनीको सेयर मूल्यमा भने ९.९२ प्रतिशतको वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५८ अङ्कले घटी २ हजार ४ सय ८५ विन्दुमा आएको छ । यो ० दशमलव ८६ प्रतिशतको गिरावट हो ।
आज कुल कारोबार ५ अर्ब १० लाख रुपैयाँको मात्र भयो । पछिल्ला दिनमा कुल कारोबार रकममा भारी गिरावट देखिएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबारको तुलनामा आज करवि १ अर्ब रुपैयाँले कारोबार रकम घटेको छ । आज २ सय ११ कम्पनीको शेयर ५३ हजार ९ सय ७० पटक कारोबार भएको छ । बिहीबार ९० अङ्कले बढेको बजार आज भने गिरावट आएको छ ।
आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ताहरु रहेका छन् । आज चन्द्रागिरी, एक्सल विकास बैंक, रैराङ हाइड्रोपावर विकास कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, र नेपाल इन्स्योरेन्स बढी कमाउने कम्पनीमा रहेका छन् ।
साल्ट टे्रडिङ कर्पोरेसन, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल बढी गुमाउने कम्पनीमा रहेका छन् ।