कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जानकारी दिएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ ।
इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६० दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२ दशमलव २ प्रतिशतले बढेको छ ।
प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो । चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४ दशमलव १ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५० दशमलव २ प्रतिशतले बढेको छ ।
चीनको समग्र ब्यापार बचत १ खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ । –रासस