काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आज बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किएका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउनको लागि सबैलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ । प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ । यसपटक करिब १६ लाखले कोरोना भाइरस विरुद्धको खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान रहेको छ ।