काठमाडौं – कोरोना भाइरस (कोभिड –१९) विरुद्धको ३ लाख ४८ हजार खोपको डोज आज नेपाल आउँदै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै नै आउने मन्त्रालयले जानकारी दिएको छ ।