काठमाडौं – अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् । शुक्रबार दिइएको जानकारी अनुसार अफगानिस्तानमा गएको २४ घण्टा यता भएका हिंसामा परी कम्तीमा ९० जनाको निधन भएको बताइएको हो । यहाँको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले शुक्रबार बिहान सो जानकारी दिएको छ ।
रिभले भनेको छ, “गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानको आक्रमण लगायतका हिंसामा परी ८ जना अफगानिस्तानका सर्वसाधारण नागरिक र ५ जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।”

साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान मारिएको पनि बताइएको छ । सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबानहरु मारिएका हुन् । अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् । गएको २४ घण्टा यतामात्र अफगानिस्तानका विभिन्न पाँच प्रान्तका ८ स्थानमा हिंसात्मक आक्रमणहरु भएका थिए । –रासस