काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजारमा वृद्वि भएको छ । ९० दशमलव ६७ अङ्कले बढेको बजारमा सबै समूहमा बढोत्तरी रहेको छ । ३ दशमलव ७५ प्रतिशतले बढेको बजार २ हजार ५ सय ६ दशमलव ६८ विन्दुमा पुगेको छ । आज ६ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ । जीवन बीमा तर्फको बढोत्तरी सबैभन्दा धेरै रहेको छ । निर्जीवन बीमा, ट्रेडिङ समूहमा पनि आकर्षक बढोत्तरी देखिएको छ ।
सेयर बजार घटेको दिनमा पनि पछिल्ला केही दिनयता सेयर मूल्य बढिरहेको चन्द्रागिरी हिल्सले आज पनि सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रागिरी सहित लिबर्टी इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । चन्द्रागिरिको सेयर मूल्य ६ सय ५ रुपैयाँ कायम भएको छ ।
तर कारोबारको रकममा सबैभन्दा धेरै कारोबार हुनेमा पूर्वाधार बैंक (निफ्रा) नै रहेको छ । यसको ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता शिखर इन्स्योरेन्सको पनि बढी कारोबार भएको छ । दोस्रो बढी कारोबार भएको शिखरको २४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।