वेष्ट इन्डिजका काउरन पोलार्डले टी–२० आई क्रिकेट खेलको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी–२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा पोलार्डले छक्काको वर्षा गराएका थिए ।
पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी–२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । यस्तै एभिन लेविसले २८ र लेन्डल सिमोन्सले २६ रन जोडे । ज्यासन होल्डर २९ रनमा अविजित रहे ।
श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै डी सिल्भाले पनि ३ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।
श्रीलंकाका पाथुम निशनकाले ३९ र निरोशन डिक्वेलाले ३३ रन बनाएका थिए । वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए । यस जितपछि ३ खेलको सिरिजमा वेस्ट इन्डिजले १–० को अग्रता बनाउन सफल भएको छ ।