काठमाडौं – गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका –७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन् ।
उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन् । टाउको र खुट्टा भने केही पर भेटिएको थियो । जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिएका छन् ।
शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन् । उनले भने ’उनी जिवीत रहुञ्जेलसम्मको लागि कैदको सजाय सुनाएको छ,’ । त्यस्तै कल्पनाकी छोरीले भने सफाई पाएकी छन् । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।
शर्माले भने ’सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ । उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन् । त्यहीँ आधारमा उनले सफाइ पाएकी छन्,’ ।
उनले भने ’आमाको हकमा जन्मकैदको सजाय हुनेमा अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यान मारेकोले सोही संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म कैद हुने भनिएको छ,’ । गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो । पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो ।
शव भेटिएता पनि प्रहरीले केही दिनसम्म कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन । त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो । सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो ।