म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । गाब्रीएस जेससको २ गोलको मद्दतमा सिटीले उल्भ्सलाई पराजित गरेको हो । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अङ्कतालिकामा १५ अङ्कको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।
सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा गाब्रियल जेससले २ गोल गर्दा रियाद महारेजले १ गोल गरेका थिए । उल्भ्सका लिन्डर डेनडोनकरले १ आत्मघाती गोल उपहार दिएका थिए । खेलको १५ मिनेटमा उल्भ्सका लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । ५६औं मिनेटमा उल्भ्सका लागि कोएडीले बराबरी गोल फर्काए ।
तर अन्तिम १० मिनेट भित्र सिटीले ३ गोल ग¥यो । ८० मिनेटमा गाब्रीएल जेससले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ९० मिनेटमा महारेजले गोल गरेपछि सिटीको ३–१ को अग्रता बनायो । जेससले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–१ को जित दिलाएका थिए ।
सबैखाले प्रतियोगितामा सिटीको यो लगातार २१ जित भएको हो । जसमा सिटीले ५५ गोल गर्दा जम्मा ८ गोल व्यहोरेको छ । जितपछि २७ खेलबाट ६५ अङ्क जोडेको लिग लिडर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १५ अङ्कको अग्रता बनाएको छ । २६ खेल खेलेको युनाइटेडको ५० अङ्क रहेको छ । पराजित भएको उल्भ्स २७ खेलबाट ३४ अङ्कसहित १२ औं स्थानमा रहेको छ ।