काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सले पूर्वनिर्धारित समय परिवर्तन गर्दै आगामी शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुला गर्न लागेको छ । यसअघि आइतबारबाट आईपीओको निष्कासन गर्ने भनिएको थियो । तर ज्योति लाइफ इन्स्योरेन्सले २ दिन अगाडि समय सार्दै शुक्रबारदेखि नै आईपीओ निष्कासन शुरु गर्ने भएको हो ।
यस कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ । ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो ।
यस कम्पनीभन्दा पहिले आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाले पनि पूर्व निर्धारित परिवर्तन गर्दै शुक्रबारदेखि नै आईपीओ खुला गरेको थियो । यी २ कम्पनीहरु मात्रै होइन कोरोना भाइरस (कोभिड–१९) पछि आईपीओ जारी गर्ने अधिकांश कम्पनीहरुले शुक्रबार नै रोज्ने गरेका छन् । तुलनात्मक हिसाबले अन्य दिनभन्दा शुक्रबार धेरै कम भिजिटरहरु हुने नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा बताउनु भएकको छ । अध्यक्ष थापा भन्नुहुन्छ ‘अन्य दिनभन्दा शुक्रबार कार्यालय पनि चाडै छुट्टी हुन्छ, भिजिटर पनि कम हुने भएका कारण शुक्रबार नै रोज्ने गरिएको छ,’ ।
सेयर कारोबारको सम्पूण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सन्तोष न्यौपाने अहिले आवेदकहरुको सङ्ख्या निकै बढेको कारण ‘लोड म्यानेजमेन्ट’ गर्नै समस्या भएको बताएका छन् । एकै पटक धेरैले सिडिएसको वेवसाइड खोल्न खोज्दा समस्या हुने गरेको समेत उनले जानकारी दिएका छन् ।
अहिले आईपीओका लागि लगानीकर्ताहरुले सिडिएसकै वेवसाइटमा रहेको ‘मेरो सेयर’ मा गएर आवेदन दिने हो । आवेदकको सङ्ख्या निकै ठूलो हुँदा बेला बेलामा सिस्टम नै बन्द हुने गरेको छ । यसको कारण भनेकै लोड व्यवस्थापन हुन नसक्नु हो ।
सेयर कारोबार सार्वजनिक बिदा बाहेक आइतबारदेखि बिहीबारसम्ममात्रै हुन्छ । कारोबार हुने दिनमा लोड धेरै भयो भने दैनिक कारोबार प्रणालिमा समेत समस्या आउन सक्ने प्रवक्ता न्यौपाने बताएका छन् । शुक्रबार भने कारोबार नहुने भएको र लोड पनि कम हुने भएकाले शुक्रबार नै आईपीओ आवेदनका लागि खुला गर्ने गरिएको उनको भनाइ रहेको छ ।
‘ट्रेडिङ सेटलमेन्टमा समस्या आउन सक्छ, अन्य कामका असर नपरोस भनेर हामीले शुक्रबार आवेदन खुला गर्नुस् भनेका हौँ’ प्रवक्ता न्यौपाने भन्छन्, ‘सुरुआती दिनहरुमा लोड धेरै हुने हो, कारोबार नहुने दिनमा हुँदा धेरै सहज हुने भएर नै शुक्रबार रोजिएको हो ।’
प्रणालीलाई बलियो बनाउने हो भने आईपीओ आवेदन गर्नका लागि शुक्रबार नै पर्खनु पर्दैन । तर अहिले पर्याप्त श्रोत साधनहरु नभएका कारणले गर्दा समस्या भएको समेत उनले बताएका छन् । यसको सजकीकरणका लागि सीडीएसले काम गरिरहेको पनि उनको भनाइ छ । ‘हामीले निकै सहज बनाउन लागि परेका छौँ, तर यसका लागि केही समय लाग्छ,’ उनी भन्छन्, ‘हामी अझै बलियो नहुने बेलासम्मका लागि हामीले शुक्रबारदेखि सुरु गर्छौं, त्यसपछि जुनबार आवेदन खुला गरे पनि फरक पर्दैन ।’