काठमाडौं – आज सेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से ५९ दशमलव ७० अङ्कले घटेको छ ।
परिसूचक नेप्से ५९ दशमलव ७० अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ अङ्कमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ८० अङ्कले घटेको छ ।
नेप्से परिसूचकमात्रै होइन कारोबार रकममा पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । आज नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । परिसूचक नेप्से ५९ अङ्क भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २ सय ७८ दशमलव ४९ अङ्कले बढेको छ ।
अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि १६ दशमलव ८६ अङ्कल बढेको छ । यी २ समूहहरु बढेता पनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २ दशमलव ५० अङ्कले घटेको छ, भने विकास बैंक २ दशमलव ३३ र जलविद्युत २ दशमलव ८ अङ्कले घटेको छ ।
यसैगरी उत्पादनमूलक २ दशमलव ७६, फाइनान्स १ दशमलव ९८, लघुवित्त २ दशमलव ६१, निर्जिवन बिमा २ दशमलव ६५, र अन्य समूह २ दशमलव १२ अङ्कले घटेका छन् ।