अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की प्रमुख डा. रशेल वालेन्स्कीले अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने देखिएको बताएकी छन् ।

उनले पछिल्लो तथ्याङ्कले महामारीको सम्भावित चौथो चरणमा नयाँ भेरियन्ट थप चुनौतिपूर्ण बनेर आउने देखिएको बताएकी हुन् ।

गएको हप्ता दैनिक औषतमा ७० हजार मानिसमा संक्रमण देखिएको र त्यो अति उच्च रहेको डा. वालेन्स्कीको भनाई छ । गत हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो ।

सिडिसीकी निर्देशक डा. वालेन्स्कीले सोमबार भनेकी छन्, ‘संक्रमण यस्तो भइरहेको र तीव्र गतिमा फैलिने नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा हामीले महामारी नियन्त्रणका लागि बनाएको आधार पनि डगमगाउने खतरा छ । यी भेरियन्टहरु सर्वसाधारण र हाम्रो प्रयासका लागि वास्तविक चुनौति हुन् ।’

अहिले कोरोना भाइरसका विभिन्न भेरियन्टहरु सक्रिय रहेका छन् । तर स्वास्थ्य विज्ञ भने केही भेरियन्टलाई लिएर मात्रै चासो व्यक्त गरिरहेका छन् ।

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढि संक्रामक र जोखिमपूर्ण देखिएका छन् ।

बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको अति संक्रामक भेरियन्ट बी.१.१.७ ले यो महिना (अप्रिल) अमेरिकामा दबदबा कायम गर्ने पूर्वानुमान सिडिसीले गरेको छ ।

कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख १४ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ । अमेरिकीमा कुल संक्रमितको संख्या दुई करोड ८६ लाख ५९ हजार सात सय भन्दा धेरै पुगेको छ ।