काठमाडौं – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका —३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आज आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिएका छन् ।
दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको समेत बताइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिएका छन् ।
उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको समेत कार्कीले जानकारी दिएका छन् ।