काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी चैतमा महिला क्रिकेट टी–२० प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको आयोजना गरेको थियो । जसमा प्रदेश १ ले विभागीय टोली एपीएफको वर्चस्व तोड्दै उपाधि हाथ पार्न सफल भएको थियो ।
क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा यही फागुन २२ गतेदेखि ९ गतेसम्म टी–यू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा पुरुषको मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गर्नलागेको छ । जसमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेका ४ वटा टिम र काठमाडौं महानगरपलिकाको १ टिम गरी ५ टिम प्रतिस्पर्धामा सहभागि हुनेछन् ।
पुरुषको मेयर कप सकिएपछि क्यानले महिलाको पनि त्यस्तै खालको प्रतियोगिता गर्ने तयारी गरेको हो । क्यान स्रोतले भन्यो ‘पुरुषमा जस्तै महिलाको पनि अब एउटा प्रतियोगिता हुने भएको छ । चैतमा आयोजना गर्नेगरी हामी तयारी गर्दैछौँ । अन्तिम निर्णय हुन बाँकी छ,’ ।
नेपाल क्रिकेट संघका अनुसार महिला प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र टी–२० फर्म्याटमा खेल खेलाइनेछ । २२ गतेदेखि सुरु हुने पुरुष मेयर कपकै बेला महिला प्रतियोगिताको बारेमा थप जानकारी सार्वजनिक हुनेछ ।
नेपालको महिला टिमले आगामी सेप्टेम्बरमा टी–२० विश्वकपको एसियाली छनोट खेल्ने तालिका रहेको छ । मलेसियामा हुने भनिएको उक्त छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि उक्त छनोट प्रतियोगिता सर्न सक्ने सम्भावनासमेत देखिएको छ ।
त्यसबाहेक नेपालको महिला टिमले तत्काल खेल्ने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको महिला टिमलाई भारतको उत्तराखण्डमा खेलाउने पहल गरिरहेको छ । चैतमा प्रतियोगिता भएपछि त्यहाँबाट टिम छनोट गरेर भारतको उत्तराखण्डमा खेल्न पठाइने समेत स्रोतले जानकारी दिएको छ ।