एजेन्सी – १ महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन् । तर, १ दिनपछि प्रदर्शनकारीहरू आज पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुकीको सरकारलाई पुनः स्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु माथि याङगनमा प्रहरीले गोली चलाएको थियो । सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडीहरु समेत परिचालन गरिएको छ ।
प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुकीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो सङ्ख्यामा प्रदर्शनकारीहरु सडकमा आएका थिए । ‘कू को १ महिना पुगेको छ । उनीहरुले हामीमाथि गोली बर्साएर हिजो दमन गरे । आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन् ।
सुची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ठूलो जीत हासिल गरेपछि धाँधली गरेर चुनाव जितेको सेनाले आरोप लगाएको छ ।