काठमाडौँ—अखिल नेपाल फुटबल संघ—एन्फाले राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । दोस्रो चरण शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगिताको अन्तिम खेल फागुन ७ गते हुने छ । दशरथ रंगशालामा हुने त्यस खेलमा शसस्त्र प्रहरी बल—एपीएफ र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब भिड्नेछन् । प्रतियोगितामा ७ टोली सहभागी छन् । डबल लिग राउन्ड रोबिनका आधारमा सन्चालन भइरहेको प्रतियोगितामा हरेक टोलीले पहिलो चरणका ६/६ खेल खेलिसकेका छन् अर्थात प्रत्येकले हरेकसँग एक एक खेल खेलेका छन् ।

एपीएफ ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब १३ अंकसहित दोस्रोमा छ । ६ खेलबाट १० अंक भएको विराटनगर महानगरपालिका तेस्रोमा छ । ८ अंक भएको नेपाल पुलिस क्लब चौथोमा छ । ८ अंक भएको स्याङ्जाको वालिङ नगरपालिका पाँचौँ स्थानमा छ । रौतहटको चन्द्रपुर नगरपालिकाको ३ अंक छ भने उदयपुरको चौदण्डगढी नगरपालिकाले अंक प्राप्त गर्न सकेको छैन । प्रतियोगितामा एपीएफले एक गोल पनि ब्यहोरेको छैन भने विपक्षीको पोष्टमा ४३ गोल गरेको छ ।

आर्मीले ३६ गोल गरेको छ भने दुई गोल ब्यहोरेको छ । १३ गोल गरेको विराटनगरले १५ गोल ब्यहोरेको छ , बराबरीसमेत खेल्न नसकेको चौदण्डीगढीले ६३ गोल ब्यहोरेको छ । उसले प्रतियोगितामा केवल एक गोल गरेको छ । प्रतियोगितामा एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गरेकी थिइन् । प्रतियोगितामा एपीएफले गरेका गोलमध्ये २४ गोल उनको मात्र छ ।