काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट देखिएको छ । बजार खुलेको २ घण्टामा नै परिसूचक नेप्से ५८ दशमलव ५८ अङ्कले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचकहरु घटेका छन् । बिहीबार २ हजार ५ सय ५४ अङ्कमा पुगेको परिसूचक नेप्से आजको कारोबार सुरु हुँदा ३ दशमलव ६६ अङ्कले बढेको थियो । त्यसपछि निरन्तर ६९ अङ्कले घटेको बजारमा बिस्तारै सुधार देखिन खोजेतापनि सन्तोषजनक भने देखिएको छैन । दिउँसो १ बजेसम्म दोस्रो बजारमा ५ अर्ब ५ करोड भन्दा धेरैको कारोबार भएको छ ।
घट्दो मूल्यमा अहिले पनि बजारमा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को शेयर कारोबार सबै भन्दा धेरै रहेको छ । चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ४ प्रतिशत भन्दा माथि घट्दो लेबलमा कारोबार भइरहेको छ ।
बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु चिन्तित देखिएका छन् । शेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले बजारमा धैर्यता कायम राख्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । पौडेलले भन्नुभयो ‘आगोको विशेषता राफ निकाल्नु भएजस्तै शेयर बजारको विशेषता घट्नु वा बढ्नु हो एक दिन घट्दैमा धैर्यता नगुमाऔं बजारमा त्यस्तो केही भएको छैन,’ ।