काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) फागुन २३ गतेदेखि खुल्ने भएको छ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको छ ।
अङ्कित मूल्य १ सय रुपैयाँका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुने भएको छ ।
आइपिओमा न्यूनतम १० कित्तादेखि, अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने भएको छ । यस आइपिओमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।
नयाँ कम्पनीहरुमध्ये प्रभु र रिलायन्स लाइफले अघि नै आइपिओ जारी गरिसकेका छन् । ज्योतिसहित पछिबाट खुलेका कम्पनीहरु आइएमई, रिलायबल, युनियन, सन नेपाल, सानिमा, सिटिजन र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी रहेको छ ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३ सय ३९ रुपैयाँ रहेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो ।
कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउँछ । पछिबाट खुलेको जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको बिजनेस वृद्धिदर राम्रो देखिएको छ ।