एजेन्सी – इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको सुन खानीमा बुधबार गएको पहिरोमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ, भने करिब ७० जना बेपत्ता भएको प्रकोप व्यवस्थापन निकायले आज जानकारी दिएको छ ।
प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरङ्गा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो गएको जानकारी दिएका थिए ।
५ वटा लाशहरु भेट्टिएको र अन्य ७० जना हराइरहेका र ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएका छन् । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले जानकारी दिएका छन् ।
सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।