काठमाडौं – काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आएकि थिइनन् । (फागुन १२) गते बुधबार परिवारकै एक सदस्यको नम्बरमा एक म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेजमा ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख रुपैयाँ लिएर आउनु, छोरी मसँग झापामा छ भनि एक धम्कीपूर्ण म्यासेज आएको थियो ।’
म्यासेज विद्या तिमल्सिनाकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि उनका परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो । अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट विद्यालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन् ।
एसपी बस्नेतले भने ‘अपहरण त होइन,’ ‘आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ ।’ गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्किइन् ।
चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडेकी थिइन । जागिर छाड्दा सहकारीमा उनको नाममा केही पैसा बेरुजु देखिएको थियो, र सो पैसा तिर्न पनि बाँकी रहेको थियो । त्यही पैसा तिर्नको लागि आफ्नो बुवासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बुधवार राति कालीमाटीमा प्रहरीले भेट्टाएपछि उनले भनेकी छिन ‘म्यासेज मैले नै लेखेको हुँ, कसैले अपहरण गरेको छैन ।’