एजेन्सी – अष्ट्रेलियामा फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्ने भएको छ । यो संसारकै पहिलो यस्तो कानून पारित भएको हो । यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जताएको छ ।
अघिल्लो हप्ता फेसबुकले अष्ट्रेलियामा बस्नेहरुका लागि समाचारको पहुँचमा रोक र फेसबुकमा समाचारहरु सेयर गर्न पनि रोक लगाएको थियो । यद्यपि, यो हप्ता सरकारसँगको कुराकानीपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।
सोही कुराकानीको आधारमा सरकारले तल्लो सदनमा जुन कानून प्रस्ताव गरेको थियो त्यसमा केही संशोधन गरिएको छ र केही बुँदामा दुबै कम्पनीलाई नयाँ कानूनबाट राहत मिल्ने प्रावधान राखिएको छ ।
तर दुबै कम्पनीलाई अष्ट्रेलियाली ठूला प्रकाशकलाई आकर्षक रकम प्रदान गर्नका लागि प्रतिबद्ध गराइएको छ । यसलाई मोटामोटी रुपमा टेक कम्पनीको तर्फबाट गरिएको सम्झौताको रुपमा पनि हेरिएको छ ।
अष्ट्रेलियाको यो कानून विश्वभरका निकायका लागि डिजिटल माध्यममा खबरका लागि भुक्तानीको एउटा नयाँ मोडल प्रमाणित हुनसक्ने बीबीसीले जनाएको छ । यो कानून बिहिबार हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित गरिएको हो ।