काठमाडौं – दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै नगद रकम बोकेर भारततर्फ जाँदै गरेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगञ्ज उपमहानगरपालिका –१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका छोरा २३ वर्षीय प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
अवैध बाटोको प्रयोग गरी नेपालदेखि भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा भारतीय रुपैयाँ २ हजार दरको ६३ थान र ५ सय दरको ३ सय ४८ थान गरी भारतीय ३ लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिएका छन् ।
दुवैजनाबाट नेपाली रु २७ हजारसमेत बरामद भएको छ । भारतीय र नेपाली रकम गरी दुवैजनाबाट गरी ५ लाख ७ हजार रकम बरामद भएको छ, ऐरले भने, “यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको २ थान चेनसमेत बरामद गरिएको छ ।” विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैजनालाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिएका छन् ।