एजेन्सी – इक्वेडरमा मंगलबार ३ ओटा जेलमा भएको दङ्गामा परी ८३ जनाको ज्यान जानुकोे साथै अन्य कयौ घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनाको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको बताइएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा ३ ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप समेत लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले जानकारी दिएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले बताएका छन् ।
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको ज्यान गएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्नको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदीको ज्यान जानुको साथै ७ जना घाइते भएका थिए ।