काठमाडौं – टिएमएसमा गडबढ देखाउँदा परिसूचक नेप्से भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर मूल्य शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली देखिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।
कुनै पनि कम्पनीको मूल्य १ दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि आज निफ्राको मूल्य शतप्रतिशत घटेको देखिएको छ । यसले निफ्राको भ्यालू शून्य भएको जनाउँछ । अनलाइन प्रणालीमा गडबढी हुँदा यस्तो देखिएको हो ।
टिएमएसमा देखिएको समस्याका कारण निफ्राको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । आज कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा निफ्राको शेयरमूल्य शतप्रतिशतले घटेपछि लगानीकर्तामा भ्रम पैदा भएको छ ।