काठमाडौं – सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिङ्कु दास रहेका छन् । सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले आज दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
शङ्का लागेपछि चेक गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।