एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आजबाट श्रीलङ्काको भ्रमण सुरु गर्नुभएको छ । उहाँ २ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा जानुभएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री खानसँगै प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद, पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।
प्रधानमन्त्री भएपछि उहाँले पहिलो पटक श्रीलङ्काको भ्रमण गर्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री हुनुभएको हो । खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।